तेह्रथुमबाट १ सय ९५ द्धन्द्धकालिन उजुरी दर्ता

Posted on: 20 Jul, 2016

प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम। द्धन्द्धकालिन समयमा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा मानव अधिकार उलंघनका घटनाका दोषीबारे सत्य तथ्य पत्ता लगाउन माग गर्दै तेह्रथुममा १ सय ९५ वटा उजुरी परेका छन् ।

द्धन्द्धकालिन मुद्धाहरुको समाधानकालागि गठित बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालयमार्फत उजुरी माग गरेपछि पुर्वान्चलमै धेरै १ सय ९५ उजुरी परेको स्थानीय शान्ति समिति तेह्रथुमले जनाएको छ । 

त्यसमध्ये बेपत्ता व्यक्तिहरुको छानविन तर्फ १६ वटा र सन्य निरुपण तथा मेलमिलाप आयोगतर्फ १ सय ७९ वटा उजुरी दर्ता भएका हुन् । आयोगले उजुरीकालागि साउन २ गते अर्थात्  आइतबारसम्मको म्याद दिएको थियो । आफुले कार्यालयमा प्राप्त उजुरीहरु शिलबन्दी गरी आयोगको निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारीलाई बुझाईसकेको शान्ति समिति सचिव तुलसीराम रिमालले जानकारी दिनुभयो ।

शशस्त्र द्धन्द्धको समयमा तत्कालिन राज्य र विद्रोही पक्षद्धारा बेपत्ता पारीएका, विस्थापित भएका, अङ्गभङ्ंग र घाइते भएका, मृत्यु भएका, यौनजन्य हिंसा, सम्पत्ति क्षति तथा गम्भीर मानव अधिकार उल्लघंन भएका घटनाका बारेमा अध्ययन गरी छानविन तथा सत्य तथ्य पत्ता लगाउन गठित आयोगले त्यसम्बन्धी उजुरी दिन आव्हान गरेका थिए । तर उजुरी गर्ने द्धन्द्धपिडितहरुले भने आफुहरुका मनमा उजुरीमाथि छानविन र कारबाही हुने आशा कमैमात्र रहेको बताएका छन् । 

तर जिल्लामा ०५२ देखि ०६२ सालसम्म चलेको दश वर्षे जनयुद्धका क्रममा जिल्लाबासीले निकै सास्ती बेहोरेका थिए । त्यसकारण पनि द्धन्द्धका क्रममा बेपत्ता पारिएका र अन्य द्धन्द्ध पिडितहरुको न्याय र सुविधाकालागि शान्ति तथा पुनः निर्माण मन्त्रालय अन्तर्गत स्थापना भएको स्थानीय शान्ति समितिमा नआएका पिडितहरुसमेत आयोगसमक्ष आएका छन् । स्थानीय शान्ति समितिले १२ जना मात्रै बेपत्ता भएको तथ्यांक संकलन गरेको भएपनि अहिले आयोगसमक्ष १६ जनाले उजुरी दिएका छन् । 

जिल्लामा आयोगले सूचना जारी गरेपछि स्थानीय शान्ति समितिमार्फत प्रचार प्रसार र छलफल तथा अभिमुखीकरण गरिएकाले उजुरीहरु धेरै परेको संयोजक देवनारायण सम्बाहाम्फेले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!