बागलुङमा पहिरोमा परी तीन जनाको मृत्यु : पुष्पलाल लोकमार्ग अवरुद्ध

Posted on: 15 Aug, 2020

साउन ३१, बागलुङ (रासस) । निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गए राति गएको पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय  प्रवेश विक र वडा नं ३ की ६० वर्षीया बली विक  छन् । 

घरमाथिबाट खसेको पहिरामा पुरिएका तीनै जनालाई मृतावस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । 

मृतक वीरेन्द्र स्थानीयवासी हिरा विक र प्रवेश दिलसरा विकका छोरा हुन् । साठी वर्षीया  बली ठुच्चे विककी श्रीमती रहेको प्रहरीले जनाएको छ ।

त्रिपन्न वर्षीया दिलसरा सामान्य घाइते भएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पहिरो गएको खबर पाउनासाथ प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए ।

अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरी टोली पनि घटनास्थल पुगेको छ । अविरल वर्षासँगै खसेको पहिराले निसीखोलामा पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि अवरुद्ध भएको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!