नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गरेको छः परराष्ट्रमन्त्री

Posted on: 17 Sep, 2020

असोज १, गुल्मी (रासस) । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड –१९ विरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाका सिपाही भएको बताउनुभएको छ । 

सदरमुकाम तम्घासमा आज कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले  यो लडाइँ हतियार, गोलाबारुद र पैसाले लड्न सक्ने नभएकाले सबै नागरिक सतर्क, सचेत र जागरुक भए जित्न सकिने बताउनुभयो । 

स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर कोभिडका कारण कमजोर भएको अर्थतन्त्रलाई लयमा फर्काउन सरकार लागिपरेको जानकारी दिँदै  सरकारका प्रवक्ताले कोभिडका कारण विदेशबाट फर्किएका नागरिकलाई रोजगारी प्रदान गर्नेतर्फ सरकारको ध्यान गएको बताउनुभयो । 

 मन्त्री ज्ञवालीले सरकारले सात प्रतिशतका दरले आर्थिक वृद्धिदर एवं साढे एक प्रतिशतका दरले गरीबी घटाउँदै गएको र नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गर्दै गएको बताउनुभयो । 

दुई महिनाअघि परराष्ट्रमन्त्री ज्ञवालीका पहलमा हिमालय एयरलायन्सले गुल्मीमा निःशुल्क पिसिआर मेशिन उपलब्ध गराएको थियो ।

उक्त यन्त्रमा आन्तरिक समस्या आएका कारण गत महिना फिर्ता पठाइएपछि पुनःअर्को ल्याइएको हो । रेसुङ्गा नगरपालिकाको व्यवस्थापकीय सहयोगमा पिसिआर मेशिन यसै सातादेखि सञ्चालनमा आउने गुल्मी अस्पतालका डा उत्तम पाच्यले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!