काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै न्यून, देशभर जाडो बढ्यो

Posted on: 28 Oct, 2020

कात्तिक १२, काठमाडौं । देशभरको मौसम क्रमश चिसिदै गएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम अर्थात ११.४ डिग्री मापन गरिएको छ ।

मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । चिसो बढेसंगै पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जान्छ ।

मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ ।  आज बिहान पौने ९ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस छ । सबैभन्दा कम तापक्रम जुम्लामा १ र डडेलधुरामा ९.५ डिग्री सेल्सियस मापन भएको छ ।

पानी पर्यो भने पनि जाडो बढ्छ । तर अहिले तत्कालै पानी पर्ने सम्भावना भने नरहेको मौसमविद कँडेल बताउँछिन् । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!