बर्दिबासमा निषेधाज्ञा जारी गरेपनि रोकिएन प्रदर्शन

Posted on: 25 Nov, 2020

मंसिर १०, बर्दिवास | महोतरीको बर्दिबासमा बालिकाको हत्याको बिरोधमा भएको प्रदर्शन आज पनि रोकिएको छैन | बुधबार जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरे पनि नगरपालिका प्रमुखको पुत्लादहन गर्दै बालिका हत्याको बिरोधमा प्रदर्शन गरेका हुन् |

प्रदर्शनका क्रममा प्रहरीद्वारा करिब एक दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीको भिड तितरबितर भएको छ | मंगलबार प्रहरीको गोलि लागेर घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएपछि स्थिति झन् तनाव ग्रस्त बनेको हो |

आइतबार साँझ घर वरिपरिबाटै बेपत्ता भएकी बालिका गुलावको शव सोमबार मध्यरातमा घरनजिकैको झाडीमा बोरामा राखेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । बालिका अपहरण र हत्या घटना प्रकरणमा बर्दिवास–१४ शुभम बस्तीमा समेत घर भएका जिल्लाकै गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई प्रहरीले सोमबार साँझ नै पक्राउ गरेको छ । सोमबार साँझ स्थायी घर गौशाला–५ पुगेका साहले बाबुआमासँग बालिकालाई मारेर भागेको बताएपछि परिवारजनले नै उनलाई इलाका प्रहरी कार्यालय गौशाला पुर्याएर प्रहरीको जिम्मा लगाएका थिए । साहलाई बर्दिवास ल्याएर प्रहरीले उनैले देखाएको ठाउँमा सोमबार मध्यरातमा बालिकाको शव बरामद गरेको थियो ।

सोमबार मध्यरातमा शव बरामद भएपछि हत्यारालाई सार्वजनिक ठाउँमा कारवाहीको माग गर्दै मङ्गलबार बिहानैदेखि प्रदर्शनमा उत्रेको भीडले पक्राउ परेका साहको बर्दिवास–१४ स्थित तीनतले घरमा आगजनी गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!