कैलालीका स्थानीय तहमा जनशक्ति र स्वास्थ्य उपकरण अभाव

Posted on: 09 May, 2021

झलनाथ खनाल। वैशाख २६, भजनी (रासस)। कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन् ।

भजनी नगरपालिकाले १५ श्ययाको आइसोलेशन वार्ड तयार गरेको छ । आइसोलेशनमा अनमी र अहेवले चलाउनुपर्ने बाध्यता छ । आइसोलेशन वार्डमा एकजना कोरोना सङ्क्रमितको मृत्यु हुँदा कार्यरत स्वास्थ्यकर्मीको नै भागाभाग भएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख कृतिसंह विकले बताउनुभयो । नगरपालिकाले मेडिकल अधिकृतका लागि आवेदन खुला गरे पनि आवेदनमा कसैको दर्खास्त परेन । 

“संरचना छ, जनशक्ति र स्वास्थ्य उपकरण नहुँदा हामीले सोचेको जस्तो काम गर्न सकेका छैनौँ”, विकले भन्नुभयो, “अक्सिजन छैन, खरीदका लागि धेरै ठाउँ सम्पर्क गर्दा पनि कतै पाइँदैन, बिरामीलाई अक्सिजनको आवश्यकता भए पनि त्यो पूर्ति गर्न सकिएको छैन ।” प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक मेडिकल अधिकृतले कोभिडका बिरामी र स्वास्थ्य चौकीमा आउने दुवै क्षेत्रको बिरामीलाई हेर्नुपर्ने बाध्यता भजनीमा रहेको स्वास्थ्य शाखाप्रमुख विक बताउनुहुन्छ । 

उहाँले आइसोलेशन वार्ड मात्र बनाएर नहुने जनाउँदै चाहिने उपकरण र जनशक्तिका लागि सङ्घीय र प्रदेश सरकारले स्थानीय तहलाई सहयोग गर्नुपर्ने बताउनुभयो । टीकापुर नगरपालिकामा पनि समस्या त्यस्तै छ । नगरपालिकाले ३८ श्ययाको आइसोलेशन वार्ड तयार गरेको छ । नगरपालिकामा पनि सङ्क्रमितको उपचारका लागि आवश्यक जनशक्ति छैन । टीकापुर अस्पतालमा कार्यरत चिकित्सकले कोरोना सङ्क्रमितको उपचार गर्दै आउनुभएको छ । 

अधिकांश सङ्क्रमितलाई अक्सिजनको सहायतामा राखुपर्ने भए पनि अक्सिजनको चरम अभाव देखिएको छ । “सरकारले आइसोलेशन वार्ड तयार गर्न निर्देशन त दियो तर चाहिने उपकरण र जनशक्तिका लागि कुनै समन्वय हुन सकेन”, नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धधन शाखाका प्रमुख बलबहादुर रावलले भन्नुभयो, “आइसोलेशनमा राखेर मात्र सङ्क्रमित निको हुन सक्दैन, आवश्यक उपचारका लागि स्थानीय तहसँग कुनै स्रोतसाधन  छैन ।” उहाँले मेडिकल अधिकृतको आवेदन खुला गर्दासमेत कोही नआएको जनाउँदै टीकापुर अस्पतालमा कार्यरत चिकित्सकको भरमा आइसोलेशन सञ्चालन गर्नुपरेको बताउनुभयो ।

जानकी गाउँपालिकामा पनि समस्या त्यस्तै देखिएको छ । गाउँपालिकासँग नत अक्सिजन छ, नत अक्सिजन सिलिन्डर नै छ । गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख जितबहादुर चौधरीले अक्सिजन खरीदका लागि धेरै प्रयास भए पनि सफल हुन नसकेको बताउनुभयो । “अक्सिजनका लागि धेरै ठाउँ प्रयास ग¥यौँ, कतैबाट पनि आपूर्ति हुन सकेन, शायद एक÷दुई दिनमा आपूर्ति हुन्छहोला”, स्वास्थ्य शाखाप्रमुख चौधरीले भन्नुभयो, “अन्य उपकरण र जनशक्ति पनि छैन, जोखिममा रहेका बिरामीलाई टीकापुर अस्पताल पठाउँछाँै, चिकित्सकको प्रत्यक्ष निगरानी गर्नुपर्नेलाई आइसोलेशममा र बाँकी होम आइसोलेशनमै बस्नुभएको छ ।”

लम्किचुहा नगरपालिकामा जनशक्ति भए पनि उपकरणको अभावले कोरोना सङ्क्रमितको उपचारमा समस्या हुने गरेको नगरपालिकाकी स्वास्थ्य शाखाप्रमुख जयन्ती बिसीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य चौकीमा इमर्जेन्सी बाहेकका सेवा बन्द गरी स्वास्थ्यकर्मीलाई आइसोलेशन वार्डमा खटाएको जनाउँदै लम्की अस्पतालका चिकित्सकको निगरानीमा सङ्क्रमितको उपचार भइरहेको बताउनुभयो । 

“पचास श्ययाको आइसोलेशन तयार गरेका छौँ, चरम अभाव देखिएको अहिले अक्सिजनको हो, किन्नलाई पाइँदैन, अक्सिजन नभए बिरामीलाई बचाउन गाह्रो छ”, स्वास्थ्य शाखाप्रमुख बिसीले भन्नुभयो, “अन्य औषधिको पनि अभाव देखिएला जस्तो छ, मुख्यगरी हाम्रो अभाव भनेको अक्सिजन र स्वास्थ्य उपकरण नै हो ।”

टीकापुर अस्पतालमा पनि अक्सिजनको अभाव हँुदा बिरामीलाई बचाउन मुस्किल हुन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईले बताउनुभयो । उहाँले अस्पतालसँग ९४ सिलिन्डर भए पनि सिलिन्डर भर्नका लागि नेपालगञ्ज पठाउनुपर्ने र सहजरूपमा आपूर्तिमा समस्या भएको जानकारी दिनुभयो । “दैनिक बिरामीको सङ्ख्या बढ्दै गएको छ, ओपिडीमा पनि श्यया थपेर कोरोना सङ्क्रमितको उपचार गर्दै आएका छौँ”, मेडिकल सुपरिटेन्डेन्ट राईले भन्नुभयो, “स्थिति दैनिक बिगँ्रदै गएको छ, अहिलेको स्रोतसाधनले धान्न सक्ने अवस्था छैन ।” 

उहाँले अस्पतालमा १५ श्ययाको आइसोलेशन वार्ड भए पनि सङ्क्रमितको चाप बढ्न थालेपछि व्यवस्थापनमा झनै समस्या भएको बताउँदै थप जनशक्तिका लागि आवेदन खुल्ला गरेको समेत बताउनुभयो । टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले व्यापारीहरुसँग भएका खाली सिलिन्डर उपलब्ध गराउन निर्देशन दिइसकिएको बताउनुभयो । 

“अक्सिजन नपाएर बिरामीले ज्यान गुमाउन परेको छ । यस्तो विपत्तिका बेला सरकारले मात्रै सबै गर्न सक्दैन, जोसँग जे छ त्यसैको सहयोग गरौँ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “अनाहक रुपमा कसैले पनि अक्सिजन सिलिन्डर होल्ड नगरौँ, यदि त्यस्तो भेटिएमा हामी तुरुन्त कार्वाही गर्नेछौँ ।”


यस बिषयमा तपाइको प्रतिक्रिया...!