काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपियो, कुन-कुन क्षेत्र बन्द हुनेछन् ? (आदेशसहित)

Posted on: 24 Aug, 2021

भदौ ८, काठमाडौं । कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले भदौ १६ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

 कोभिड प्रोटोकल पालना गर्दै राती आठ बजेपछि पनि सार्वजनिक तथा निजी सवारी साधन संचालन गर्न पाइने भएको भएको छ । राती ८ बजेपछि सवारी साधनमा रोक लगाइँदा चौतर्फी आलोचना भएपछि जिल्ला प्रशासनले त्यसलाई ९ गतेदेखि हटाएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भदौ १६ गते सम्मको संक्रमण र मृत्युदर हेरेर मात्र अघि बढ्ने बताए । निषेधाज्ञा थपिएपनि प्रतिबन्धका नियमहरु पनि साविककै छन् । 

अझै कुन–कुन क्षेत्रमा निषेध छ ?

सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने कार्यहरु भने निषेध गरिएको छ ।

धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाउने, शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन नपाउने, स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने प्रावधान छ ।

व्यवसाय सञ्चालन पसल तथा व्यवसायहरु साँझ ७:०० बजेसम्म सञ्चालन गर्न पाइने छ । अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी गर्न पाइने व्यवस्था छ । सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराखी अनिवार्यरुपमा मास्क लगाएर मात्र सञ्चालन गर्न पाइन्छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!