स्पुटनिक भी खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति

Posted on: 25 Aug, 2021

भदौ ९, मस्को (रासस/एएनआई) । कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ ।  

अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो । 

यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

खोपको विकास गरेको रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआईएफ)ले इन्डोनेसियामा प्रयोग हुन थालेको यो खोप छैटौँ हो । 

इन्डोनेसियामा यसअघि पाँच खोपलाई प्रयोगका लागि अनुमति दिइसकिएकोमा अहिले स्पुटनिक भी थप गरिएको अधिकारीहरूले जनाएका छन् । 

उनीहरूका अनुसार इन्डोनेसियामा सिनोभ्याक, सिनोफर्म, अस्ट्राजेनिका, मोर्डना र फाइजर खोप यसअघि पनि प्रयोग हुँदै आएका थिए । 

कोरोनाभाइरसबाट धेरै प्रभावितहरूको सूचीमा इन्डोनेसिया अहिले १३औँ क्रममा पर्दछ । इन्डोनेसियामा अहिलेसम्म ४० लाख २६ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

त्यसैगरी अहिलेसम्म एक लाख २९ हजार २९३ जनाभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो एक दिनमा मात्रै एक हजार ४१ जनाको मृत्यु भएको छ ।

मृतक र सङ्क्रमितहरूको वृद्धिदर हेर्दा इन्डोनेसियामा अहिले पनि कोरोनाभाइरसको महामारीको असर धेरै नै देखिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!