यु १९ विश्वकप छनोटमा नेपालको विजयी सुरूवात

Posted on: 17 Jul, 2017


साउन २, काठमाडौं । यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ।

सिंगापुरले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १८. ३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि प्रनित थापामगरले सर्वाधिक २३ रनको योगदान दिए। यस्तै अनिल शाह १९ र रोहित कुमारले ११ रन बनाए।

अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। ओपनर सन्दिप सुनार १ रनमा आउट भए भने आरिफ सेख ४ रनमा आउट भए। यस्तै प्रकाश केसी ६ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरी २ रनमा एलबीडब्लुको धरापमा परेका थिए।

सिंगापुरका आर्यमान सुनिल र गोपिनाथ अचरले समान २ तथा रोहन रंगारञ्जन र अंश भर्गाभाले १/१ विकेट लिए। यसअघि सिंगापुरले पहिले ब्याटिङ गर्दै २९ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए। यस्तै साहब आलमले ३ र किशोर महतोले २ विकेट लिए। सिंगापुरका लागि ब्रिगु लायरले सर्वाधिक ४२ तथा सेन अग्रवालले ११ रन बनाउनुबाहेक अरूले दोहोरो रनको स्कोर छुन सकेनन्। सिंगापुरका चार खेलाडी शून्यमा आउट भए।

प्रतियोगितामा एसियाका शीर्ष चार राष्ट्र अफगानिस्तान, नेपाल, मलेसिया र आयोजक सिंगापुरका युवा टोलीले प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोविन लिगका आधारमा हुने छनोटपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने युथ विश्वकपका लागि छनोट हुनेछ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!