आईसीसीले नेपाललाई दियो ५० दिनको समय

Posted on: 10 Feb, 2018

माघ २७, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको क्रिकेट बिबाद समाधानको लागि ५० दिनको समय दिएको छ । आइसिसिको बोर्ड बैठकले नेपाल क्रिकेट संघलाई विधान संशोधन गरेर चुनाव गर्न भन्दै ५० दिनको समय दिएको हो ।

यस अघि नेपाल आएको आईसीसीको टोलीले नेपाल क्रिकेट संघको विधानमा देखिएको विवादबारे जानकारी प्राप्त गरेको थियो । आईसीसीको बोर्ड बैठकले नेपाललाई विधान संशोधन गर्न मार्चसम्मको समय दिएको छ । अब निर्वाचित क्यानले तत्काल साधारणसभा बोलाएर सल्लाहकार समूहमा भएको सहमतिअनुसार क्रिकेट संघको विधान संशोधन गर्नु पर्ने हुन्छ ।


सल्लाहकार समूहले बनाएको विधानमा संशोधन गरेको भन्दै आईसीसीले अस्वीकार गरेको थियो । अब विधान संशोधन गर्दा चुनावी साधारणसभामा राखेपबाट ७ जना जाने र निर्वाचित क्यानका १७ जना स्वतः सहभागी हुने व्यवस्था हटाइनेछ ।

आईसीसीले विधान संशोधन भएर मार्च अन्तिमसम्ममा जिल्ला, प्रान्त र केन्द्रको चुनाव भइसक्ने अपेक्षा गरिएको बताएको छ । अहिले ललितपुर र भक्तपुर बाहेक सबै जिल्लाको चुनाव भइसकेको छ । तर, केही जिल्लामा विवाद भए अनुगमन समितिले हेरेर फेरि चुनाव गर्ने सहमति भएको छ ।

आईसीसीले जुनमा हुने आईसीसीको साधारणसभामा नेपालको सदस्यताबारे निर्णय गर्नका लागि यो प्रक्रिया मार्च अन्त्यसम्ममा पूरा हुने अपेक्षा गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!