शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल: सङ्कटाको लगातार तेस्रो जित

Posted on: 23 Nov, 2018

मङ्सिर ७, काठमाडौँ (रासस) | सङ्कटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएप) क्लबको मैदानमा आज भएको खेलमा सङ्कटाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले हराएको हो । 

सङ्कटाका लागि नितिन थापा र अमित तामाङले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४ औं मिनेटमा नितिनले गोल गर्दै सङ्कटालाई अग्रता दिलाएका थिए । खेलको ८५ औं मिनेटमा अमितले दोस्रो गोल गरे । सङ्कटा तीन खेलमा नौ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान तीन खेलबाट नौ अङ्क जोडेको मनाङ मस्याङ्दी क्लब गोल अन्तरका आधारमा पहिलो स्थानमै छ । मछिन्द्रले तीन खेलबाट दुई अङ्क जोडेको छ । 

शनिबार दुई खेल हुँदैछन् । हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शनिबारदेखि तेस्रो चरणका खेल समाप्त हुनेछन् । मङ्सिर १० गतेदेखि लिगको चौथो चरणका खेल हुनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!