कराँते टोली युएई प्रस्थान

Posted on: 31 Jan, 2019

माघ १७, काठमाडौँ । जेकेएस कप कराँते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराँते डो सङ्घ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली आज युएईको शारजहाँ गएको छ । 

यही माघ १८ गते हुने प्रतियोगितामा गगन पुन, डिगम्बरप्रसाद पन्त, राम तामाङ, लक्ष्मण तामाङ, सागर शाही, सुशील पौडेल, कृष्ण विष्ट, रोहित बुढाथोकी, सुजन श्रेष्ठ, फिञ्चोक दोर्जे लामा र पाल्मो लामाले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रशिक्षकमा गजेन्द्र साउद र विनोद शाक्य गुभाजु, व्यवस्थापकमा सिर्जना ढुङ्गाना र गणेशप्रसाद अर्याल तथा निर्णायकमा सिर्जना अधिकारी र हीरादेवी राई हुनुहुन्छ । टोलीलाई सफलताको शुभकामना दिँदै पूर्वमन्त्री लेखराज भट्टले बुधबार बिदाइ गर्नुभएको थियो । 

वादोरियो टोली भारत जाने 

तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहितको नौ सदस्यीय नेपाली वादोरियो कराँते टोली आजै भारतको विशाखापट्टनम प्रस्थान गर्ने भएको छ । 

भारत जाने खेलाडीमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आआफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् । 

टोली नेतामा नेपाल वादोरियो कराँते डो सङ्घका अध्यक्ष एवं नेपाल कराँते महासङ्घका महासचिव हरिशरण केसी, व्यवस्थापकमा लवली थापा तथा निर्णायकमा पुरुषोत्तम पोखरेल र अङ्कध्वज परियार रहनुभएको छ । 

टोलीलाई युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । प्रतियोगिता यही माघ १८ देखि २० गतेसम्म हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!