अष्ट्रेलियाका महिलाको कमाई पुरुषको भन्दा बीस हजार डलर कम

Posted on: 16 Nov, 2016

मङ्सिर १, क्यानवेर्रा । अष्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाई गर्ने गरेको एक अध्ययनले देखाएको छ । 

अष्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार, सन् २०१६ को आर्थिक बर्ष सकिन लागेको यस समयसम्म पनि महिलाले औसतमा पुरुषले भन्दा २० हजार डलर कम कमाई गरेका छन् । 

करिब १२ हजार अष्ट्रेलियाली रोजगारदाता र चालिस लाख कामदारहरुमा गरिएको अध्ययनले यस्तो देखाएको सो संस्थाले जनाएको छ । लैङ्गिक समानता सम्बन्धी संस्थाका निर्देशक लिब्बी लिओनस्ले “पुर्वाग्रह र विभेद” का कारण महिला र पुरुषको आम्दानीमा अन्तर परेको बताउनु भयो । 

“तर मलाई लाग्छ, यहाँ केही सकारात्मक संकेतहरु पनि छन्,” उहाँले भन्नुभयो । उहाँका अनुसार अघिल्ला बर्षहरुको भन्दा यस बर्ष आम्दानीको अन्तर भने धेरै घटेको छ । यस बर्ष १.६ प्रतिशत घटेको उहाँले जानकारी दिनुभयो । 

अष्ट्रेलियन ब्रोडकाष्टिङ कर्पोरेसन (एबीसी) सँग निर्देशक लिब्बीले भन्नुभयो, “समानतामा पुग्न हामी अझ धेरै हिड्न वाँकी छ ।” “अहिले सम्म पनि ६ जना प्रमुख कार्यकारी अधिकृत मध्ये ५ जना पुरुष नै छन् र चार जना निर्देशक मध्ये तीन जना पुरुष छन्” उहाँले जानकारी दिनुभयो । 

निर्देशक लिब्बीले यो अन्तरको अन्त्य गर्न व्यवस्थापनको क्षेत्रमा महिलाहरु शसक्त रुपमा आईरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “यहाँ अर्को पनि प्रेरणाको तथ्य छ, त्यो के भने यस बर्ष पहिलो पटक ४२ जना महिलाहरुले व्यवस्थापकीय जिम्मेबारी पाउने गरी नियुक्ती तथा पदोन्नती भएको छ । रासस/सिन्ह्वा  

यस बिषयमा तपाइको प्रतिक्रिया...!