कतारले पठायो गल्फ राष्ट्रलाई १३ बुँदे शर्तको जवाफ

Posted on: 04 Jul, 2017


असार २० काठमाडौँ । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ ।

कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । ती चार देशले उसको नाकाबन्दी खोल्नका लागि भन्दै विभिन्न १३ बुँदे शर्त राखेका छन् ।

साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग थप नयाँ शर्त राखेर ती पूरा गर्न चेतावनी दिइएकोमा कतारले पूरा नगरेपछि हिजोदेखि लागू हुनेगरी थप ४८ घन्टाको समय कतारलाई दिएको थियो ।

कतारले ती शर्तका सम्बन्धमा मङ्गलबार आफ्नो जवाफ कुवेतसमक्ष पठाएको अन्तराष्ट्रिय संचारमध्यमले जनाइएका छन् । कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल्लाह रहिमले आज सो जवाफ लेखिएको हस्तलिखित पत्र कुवेतका विदेशमन्त्री शेख सबाह अल अहमद अल जाबेरलाई हस्तान्तरण गरेको छ ।

कतारमाथि उनीहरुले नाकाबन्दी लगाएको करिब महिना दिनपछि यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन् ।  कुवेतले सो कतार सङ्कटको समाधानका लागि मध्यस्थता गरिरहेको छ । त्यसैले कतारका राजाले कुवेतका राजालाई सो पत्र पठाएका र त्यसमा आफ्नो सरकारलाई लगाइएको नाकाबन्दी र त्यसको समाधानका लागि राखिएका पछिल्लो शर्तहरुको जवाफ पठाइएको छ ।

त्यसमा कतारले के जवाफ लेखेको छ भन्ने बारेमा भने अहिले नै केही बताइएको छैन । कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध तोडेका साउदी अरेबियासहितका देशले पछिल्लो समयमा कतारसँगको सम्बन्धको पुनस्र्थापनाका लागि भन्दै विभिन्न शर्त राखेका छन् ।

 यसैबीच प्राप्त अर्को एक समाचारअनुसार इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक बुधबारका लागि आह्वान गरेको छ । इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग यस बारेमा छलफल गर्ने जनाएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!