बर्षाका कारण १७ जनाको मृत्यु, ५ जना भारतीय सेनासहित ११ जना बेपत्ता

Posted on: 14 Aug, 2017


लोकेन्द्र प्रशाद जोशी/साउन ३०, दार्चुला । भारतको उत्तराखण्डको मलपामा भीषण वर्षाका कारण आएको बाढीपहिरो परि १७ जनाको मृत्यु हुनुको साथै ५ जना भारतीय सेना सहित ११ जना बेपत्ता भएका छन् । 

नेपाली बजार दार्चुला जिल्लाको सीमावर्ती बजार धारचुलाबाट झण्डै ८ किलोमिटर टाढा कैलश मानसरोवर मार्ग नजिक मालपा भन्ने क्षेत्रमा आज नेपाली समय अनुसार विहान ३ बजे घटना भएको हो ।

दिउँसोसम्म १७ जनाको शव फेला परेका र अझै पहिरोमा मानिसहरु पुरिएको हुन सक्ने अनुमान गरिएको छ ।

महाकाली नदी किनार नेपाली भूमिमा घाइते अवस्थामा एक महिला फेला परेका छन् । पहिरोमा पुरिएका सैनिक जेसिओ र २ जवानको भने सकुशल उद्धार गरिएको छ । मालपा खोलामा आएको बाढीले ३ ओटा होटेल बगाउनुको साथै दर्जनौँ स्थानिय सहीत २ जना जवान घाइते भएका छन् ।

त्यस्तै भारतको पिथौरागढदेखि १ सय ४५ किलोमटिर दुरीमा रहेको महाकाली नदी किनारमा रहेको भारतीय सुरक्षाको क्याम्पमा समेत पहिरो खसेको भारतीय अनलाइन पत्रिका जारणमा उल्लेख गरिएको छ । उक्त क्षेत्रका सयौँ घरहरु विस्थापित हुनुको साथै हजारौ स्थानियको विचल्ली भएको छ ।

त्यस्तै मांगती र सीमखोलाको मोटरेबल पुल समेत खोलाले बगाएको छ भने भारती सेनाको ३ ट्रक समान सहित ४ ओटा गाडीहरु सहित सेनाका खच्चरहरु समेत बगाएको छ । त्यस्तै सीमावर्ती बजार धारचुलादेखि ८ किलोमिटरमा रहेको ऐलागाड हाइवे अबरुद्ध हुनुको साथै पांगला–मालपा सडक खण्ड अन्तरगत विभिन्न ठाउँमा पहिरो गएकाले आवत जावत बन्द भएको छ ।

५० मिटर भन्दा बढी मानसरोवर जाने मार्ग समेत बाढीले बगाएको छ । उद्धार कार्य जारी रहेको छ । साथै महाकाली नदीमा पानीको बहाव खताराको सचक भन्दा माथि पुगेकाले खतराको संकेत गरिएको छ ।

यस अघि सन् १९९८ अगस्ट १७ को राती समेत भीषण बाढी पहिरोका कारण ६० कैलाश मानसरोवर दर्शनार्थीहरु, आइटीबीपी पुलिस जवान सहित २ सय ६० जनाको ज्यान गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!