साउदी अरबद्वारा यमनलाई सशस्त्र हुठी समूहबाट मुक्त गर्न आग्रह

Posted on: 05 Dec, 2017

मङ्सिर १९, रियाद, साउदी अरब (रासस/एएफ्पी) | साउदी अरबले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहलाई हुठी विद्रोहीले हत्या गरेपछि पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै मङ्गलबार इरानको सहयोग प्राप्त हुठी लडाकूबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको छ । 

साउदी अरबको मन्त्रीपरिषद्ले एक विज्ञप्ति जारी गरी “यमनी जनताद्वारा नेतृत्व गरेको विद्रोहले इरानको सहयोग प्राप्त विखण्डनकारी हुठी लडाकूबाट यमनलाई मुक्त गर्ने विश्वास लिएकोे,” साउदी अरबको एसपिए न्यूज एजेन्सीले जनाएको छ । 

विज्ञप्तिमा ‘इरानबाट सहयोगप्राप्त’ यमनी हुठी समूहद्वारा सोमबार मारिनुभएका पूर्व राष्ट्रपति सालेहको बारेमा केही जनाइएकोे छैन । यमनमा करिब ३३ बर्ष शासन गरेका सालेहले सन् २०१४ पछि यमनी सिया हुठी विद्रोहीको सहयोग लिनुपूर्व साउदी अरबको सहयोगी हुनुहुन्थ्यो । 

सालेह, उहाँका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जनालाई सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएको, यमनीगृह मन्त्रालयले सोमबार जनाएको थियो । 

पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गर्नुभएको थियो । सालेहले हुठी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन वर्ष संयुक्त रूपमा शासन सम्हाल्नुभएकोे थियो । 

इरानले यमनी हुठी विद्रोहीलाई हतियार दिएको भन्ने साउदी अरबको भनाईलाई खण्डन गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!