दुई वर्षपछि उही दिन, उही तीव्रताको शक्तिशाली भूकम्प: कयौं हताहत

Posted on: 07 Feb, 2018

माघ २४, काठमाडौँ । ताइवानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 


२०० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेट जाँदा टापुको पूर्वीतटदेखि करिब २० किलोमिटर पर ६.४ म्याग्निट्युडको भूकम्प गएको थियो ।

आपत्‍कालीन उद्धारकर्ताहरूले ख्वालिएन शहरमा आंशिक रूपमा ढलेका होटल र आवासीय भवनहरूबाट करिब १५० जनाको उद्धार गरेका छन् ।

ढल्किएका भवनहरू, छरपस्ट भग्नावशेषहरू र सडकहरूमा व्यापक क्षति पुगेको तस्वीरहरूमा देखिन्छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार नराम्ररी क्षति पुग्नेमा एउटा अस्पताल भवन पनि रहेको छ ।

भूकम्पपछि करिब ४० हजार घरमा पानी आपूर्ति बन्द भएको छ भने राजमार्ग तथा पुलहरू बन्द भएका छन् । भूकम्पले १० तले मार्शल होटलको जमिन सतहमुनिको र भुईँतला वजन थेग्न नसकी थचारिन पुग्यो ।


होटलका एकजना कर्मचारीको उद्धार गरिएको छ । तर अन्य दुईजना अझै भवनभित्र फसेको ठानिएको छ । अधिकारीहरूका अनुसार आवासीय घरमा अरू दुईजना फसेको ठानिएको छ । आपत्‍कालीन उद्धारका लागि सेनाको सहयोग मागिएको छ ।

ख्वालिएन शहरमा करिब एक लाख मानिस बस्छन् र त्यो एउटा लोकप्रिय पर्यटकीय गन्तव्य हो ।

अनौठो संयोग, दुई वर्षपछिको भूकम्प उही दिन, उही तीव्रता

मंगलबार आएको भूकम्पभन्दा ठीक दुई वर्ष अघि ६ फेब्रुअरीमा पनि ताइवानमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसमा ११७ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको केन्द्र ताइवानको दक्षिणी शहर ताइनान थियो । त्यतिबेला गोल्डन ड्रागन अपार्टमेन्ट भत्किएको थियो । १७ तले यो अपार्टमेन्टमा २५६ फ्लाट बनाइएको थियो ।

ताइवानमा तीन दिनको अवधिमा यो दोस्रो पटक भूकम्प गएको हो । आइतबार ताइवानमै ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ताइवान दुई टेक्टानिक प्लेटोको बीचमा रहेकाले यहाँ भूकम्प आइरहने भूगर्भविदहरु बताउँछन् ।

ताइवानको राजधानी ताइपेह हो । यो देशको वित्तिय केन्द्र पनि हो र यो शहर देशको उत्तरी भागमा पर्दछ । यसको आधिकारिक नाम भने ‘रिपब्लिक अफ चाइना’ हो । ताइवान चीनको समुद्री सीमाबाट मात्र एक सय मिल टाढा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!