फसेका बालक उद्धारका लागि ‘चिम्नी’ बनाइयो

Posted on: 07 Jul, 2018

असार २३, थाइल्याण्ड | थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन् । 

यसै क्रममा उद्धारकार्यमा खटेका एकजना अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार उक्त गुफाको बाहिरबाट भित्र पुग्नेगरी करिब १०० स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको बताएका छन् । 

उनका अनुसार गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो छन् । 

ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने र ती बालकको उद्धार गर्न सजिलो पर्ने उनीहरुले बताएका छन् । 

उद्धारमा खटिएका एकजना गोताखोर बालकलाई खाना पुर्याएर बाहिर फर्किने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएपछि त्यहाँ छिर्न अरुले मानिरहेका छैनन् । 

यो विधि अपनाउँदा भित्र छिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरुको उद्धार गर्न सक्ने अनुमान गरिएको छ । 

ठूलो सङ्ख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधिको प्रयोगगरी यी चिम्नी निर्माण गरिएको यहाँको सेनाले जानकारी दिएको छ । 

उता शनिबार बिहानसम्म पनि ती बालकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । उनीहरुले बाहिरबाट पठाइएको खानेकुरा खाएको र सामान्य अवस्थामा रहेको अधिकारीले जनाएका छन् । रासस÷एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!