मलेसियाका पूर्वप्रधानमन्त्रीलाई लाग्यो यस्तो गम्भीर आरोप

Posted on: 08 Aug, 2018

साउन २३, क्वालालम्पुर | मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ । 

मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित अदालतमा उपस्थित गराइएका उहाँमाथि करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएको थियो, तर उहाँले यसलाई अस्वीकार गर्नुभएको छ । आरोप प्रमाणित भएमा उहाँले १५ वर्ष जेल बस्नुपर्नेछ । 

उहाँ सत्तामा रहँदा गरेका भनिएका विभिन्न तीन वटा भ्रष्टाचारका मुद्दा उहाँमाथि लागेका छन् । उहाँलाई गत महिना पक्राउ गर्दा नै भ्रष्टाचार गरेर अवैध रकम थुपारेको आरोप लागेको थियो । बुधबारको यो आरोप तिनै आरोपमध्येको एउटा हो । 

पूर्व प्रधानमन्त्री रजाक ६५ वर्षका हुनुहुन्छ । गत महिना पक्राउ पर्नुभएका उहाँ धरौटीमा छुट्नुभएको थियो । 

मलेसियाली सरकारले पनि उहाँ प्रधानमन्त्री रहँदा उहाँले नै स्थापना गर्नुभएको ‘१एमडिबी’ नामको आयोजनामार्फत उहाँले अरबौँ डलर दुरुपयोग गरेको भनी अनुसन्धान गरिरहेको छ । 

बुधबार अदालतमा उपस्थित हुनुभएका पूर्व प्रधानमन्त्री रजाकलाई उहाँमाथि लगाइएका भनिएका ती तिनवटै विषयका बारेमा के थाहा छ भनेर सोधिएको थियो । 

बुधबारै उहाँको मुद्दा अर्काे अदालतमा सारिएको छ । उहाँको मुद्दाको बारेमा आगामी शुक्रबार थप सुनुवाई हुने बताइएको छ । 

उहाँ अदालतबाट निस्किएपछि उहाँको दलका समर्थकहरुले नजिब रजाक अमर रहुन् भनेर नाराबाजी गरेका थिए । उनीहरुले रजाकलाई राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको बताएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!