जापानमा हेलिकप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु

Posted on: 12 Aug, 2018

साउन २७, काठमाडौं | जापान सरकारको एक हेलिकप्टर गुम्माको पहाडमा शुक्रवार दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा रहेका सबैजनाको मृत्यु भएको छ । 

समाचार संस्था सिन्ह्वाका अनुसार, शुक्रवार दुर्घटनालगत्तै चालकदलका दुई सदस्यको मृत्यु भएको पुष्टि भएको थियो भने शनिवार सात अन्यको मृत्युको पुष्टि गरिएको छ । 

अधिकारीहरूका अनुसार, हेलिकप्टर क्षेत्रीय विपत रोकथाम टोलीलाई लिएर हाइकिङ ट्रेल निरीक्षणका लागि गएको थियो । शुक्रवार बिहान १० बजेतिर एयर ट्राफिक कन्ट्रोल रूमसँग विमानको सम्पर्क टुटेको थियो । हेलिकप्टर एक अनुभवी पाइलटले चलाइरहेका थिए । 

उड्डयन मन्त्रालयले बेल ४१२ईपी हेलिकप्टरले मे १९९७ मा उडान शुरू गरेको जानकारी दियो । मार्च २०१७ मा यही मोडलको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पनि नौजनाको ज्यान गएको थियो । 

अघिल्लो नोभेम्बर महिनामा पनि यस्तै दुर्घटनामा चारजना मरेका थिए ।

दुर्घटनाको जाँच विमान सुरक्षा बोर्डले गरिरहेको छ ।एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!