पाकिस्तानस्थित चिनियाँ दूतावासमा आक्रमण, दुई जनाको मृत्यु

Posted on: 23 Nov, 2018

मङ्सिर ७, पाकिस्तान | पाकिस्तानको बन्दरगाह शहर कराँचीमा रहेको चिनियाँ बाणिज्य दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्ती दुई प्रहरीको मृत्यु भएको छ । 

पाकिस्तानी सरकारी अधिकारीहरुले सो जानकारी दिएको कराँचीबाट प्राप्त समाचारमा जनाइएको छ । 

चार जना बन्दु्कधारीले दूतावासमा प्रवेश गर्ने कोशिस गरेका र उनीहरुलाई भित्र प्रवेश गर्नबाट दूतावासको सुरक्षामा रहेका सुरक्षाकर्मीले रोक लगाएका थिए । 

त्यस क्रममा ती बन्दुकधारीले सुरक्षाकर्मीमाथि नै हमला गरेका थिए । कराँचीका एकजना स्थानीय प्रहरी अधिकारी जाभेद अलाम ओधोले एएफपी समाचार समितिलाई सो जानकारी दिएका समाचारमा जनाइएको छ । 

सुरक्षा अधिकारीले रोक लगाएपछि बन्दुकधारीले प्रहार गरेको गोलीबाट दुई प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य गम्भीर घाइते भएका जाभेदले बताउनु भएको छ । आक्रमणपछि ती बन्दुकधारीहरु भागेका र हाल सुरक्षा अधिकारीहरुले सो इलाकालाई घेरा हालेर खोजी गरिरहेको बताइएको छ । 

पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा बढी प्रभाव रहेको भनिएका पृथकतावादी आतङ्ककारी समूहले सो आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । कराँची चिनियाँ लगानी परियोजनाको प्रमुख केन्द्रको रुपमा रहेको छ । 

बलुचिस्तान लिबेरेसन आर्मि (बीएलए) का प्रवक्ताले एएफपीलाई अज्ञात स्थलबाट जानकारी दिएका छन् । उनले भनेका छन्– कराँचीको हमला हामीले नै गराएका हौँ अगामी दिनमा पनि यस प्रकारको आक्रमण जारी नै राख्ने छौँ । 

पाकिस्तानको ठूलो तर निम्न आय भएका नागरिकको बाहुल्यता रहेको बलुचिस्तानमा बीएलएले विगतका दिनदेखि आतङ्क मच्चाउँदै आएको छ । 

यस दूतावासमा २१ जना चिनियाँ कर्मचारी कार्यरत रहेका छन् । अरु सबै भने सुरक्षित रहेका बताइएको छ । चिनियाँ लगानी शुरु भएयता नै चिनियाँ कामदार निमार्णाधीन इलाकामा आतङ्ककारीहरुले बारम्बार आक्रमण गर्दै आएका छन् । 

चीनको निन्दा 

यसैबीच प्राप्त अर्काे एक समाचारमा जनाइएअनुसार उक्त आक्रमणको चीनले निन्दा गरेको छ । कराँचीको चिनियाँ वाणिज्य दूतावासमा भएको हमला र चिनियाँ नागरिकको हत्याको चीन सरकारले कडा शब्दमा निन्दा गरेको छ । 

चीन सरकारले उक्त हत्याकाण्डको निन्दा गरेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!