उत्तर कोरियाली नेता किम एक्कासि श्रीमतीसहित बेइजिङमा

Posted on: 08 Jan, 2019

पुस २४, बेइजिङ | उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन ।  चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा त्यसतर्फ लागेका छन् । 


उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन जानु भएको एएफपी समाचार समितिका पत्रकारहरुले जानकारी दिएका छन् ।  स्थानीय समाचार समयानुसार सोमबार बिहान १०:५५ मा नेता किम चीन जानको लागि रेल चढ्नुभएको दक्षिण कोरियाको समाचार समिति योनहापले जानकारी दिएको छ । 

किमका साथमा श्रीमती री सोल जु सहित अरु उत्तर कोरियाली उच्चस्तरीय प्रमण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ ।  किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ता हुने समाचार सार्वजनिक भएको अवस्थामा नै किम चीन भ्रमणमा निस्केका छन् । 

यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर सम्मेलनको पूर्व तयारीका लागि भन्ने समाचार पनि सम्प्रेषण गरेका छन् ।  गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । 

किमको यस पटकको चार दिनको चीन भ्रमणले उत्तर कोरिया र अमेरिकाबीचको ऐतिहासिक शिखर बैठक चाँडै हुँदैछ भन्ने अनुमानलाई थप सहयोग पुग्ने अनुमान गरिएको छ ।  यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए । 

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो । अर्को बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन । –एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!