माओवादी आक्रमणमा परी १६ जनाको मृत्यु

Posted on: 01 May, 2019

वैशाख १८, मुम्बइ (रासस/एएफपी) | भारतमा माओवादी विद्रोहीले गराएको बम विस्फोटनको घटनामा परी बुधबार मात्रै कम्तीमा १६ जना मारिएका छन् । 

विषेश सुरक्षा टोलीमा रहेका १५ जना र एक जना चालकको सो घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । दशकौँदेखि भारतमा भइरहेको माओवादी द्वन्द्वका कारणले भएका घटनामध्ये बुधबारको घटना पनि ठूलो घटना मानिएको प्रहरी अधिकारीहरुको भनाइ छ । 

सन् १९६० को दशकदेखि शुरु भएको माओवादी द्वन्द्वका क्रममा भारतमा अहिलेसम्म दशौँ हजारको मृत्यु भइसकेको छ ।

चिनियाँ नेता माओत्से तुङबाट प्रभावित भएका विद्रोही र सुरक्षाकर्मीबीच भारतमा लामो समयदेखि भिडन्त र आक्रमणका घटना हुँदै आएका छन् । 


भारतको महाराष्ट्र राज्यमा माओवादी विद्रोहीले नै केही सवारी साधनमा आक्रमण गरेको सूचनाका आधारमा त्यसतर्फ जाँदै गर्दा उनीहरुले सुरक्षाकर्मीकै गाडीमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । 

महाराष्ट्रको गढचिरौलीमा घटना भएको हो । सो क्षेत्र माओवादी अतिप्रभावित क्षेत्र मानिन्छ । 

त्यस बाहेक विषेश गरेर भारतका झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, विहार, छत्तीसगढ, उत्तर प्रदेश, कर्नाटकलगायतका क्षेत्रमा पनि माओवादीको धेरै प्रभाव रहेको छ । 

भारतका प्रमुख आन्तरिक सुरक्षा चुनौतीमध्ये माओवादी विद्रोहलाई पनि लिइन्छ भने उनीहरु सङ्गठित भएर पूर्वी तथा मध्य भारतको ठूलो क्षेत्रमा फैलिँदै गएको पाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!