अफेयरमा भएको भन्दै महिलालाई जेल, बाहिर आएपछि श्रीमानद्वारा गोली हानी हत्या

Posted on: 04 Sep, 2019

भदौ १८, एजेन्सी | इराकको कुर्दिस्तानका अनुसार एक श्रीमतीलाई अदालतले अफेयरका कारण जेलको सजाय सुनाएको थियो । जेलबाट निस्किएपछि श्रीमानले गोली हानी हत्या गरेका छन् ।  इन्डिपेन्डेन्ट डट को डट युकेको रिपोर्ट अनुसार महिलाको डेढ वर्षको जेल सजाय पूरा भएपछि जोडीबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो ।

आइतबार सम्बन्धविच्छेदको सुनुवाईपछि अदालत परिसर बाहिर श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेका हुन् । इरबिल अदालत बाहिर कार पार्किङमा श्रीमानले ६ पटक गोली चलाएको बताइन्छ । स्मरण रहोस्, इराकी कुर्दिस्तानमा विवाहेत्तर सम्बन्ध राख्ने महिला–पुरुष दुबैलाई सजायको प्रावधान छ ।

इरबिल पुलिसका प्रमुख अब्दुल खालिक तलातले कुर्दिस्तान २४ सँगको कुराकानीमा आरोपीलाई घटनास्थलबाटै पक्राउ गरिएको जानकारी दिए । उनीमाथि हत्याको आरोप दर्ता गरिएको जानकारीमा उल्लेख छ ।पुलिसका अनुसार सुरुवाती अनुसन्धानबाट यी दुईबीच सन् २०१८ देखि नै समस्या सुरु भएको हो । इरानी र कुर्दिश महिलासँग सम्बन्धित एक संस्थाले यसलाई अनर किलिंग बताएको छ । 

इरानियन एण्ड कुर्दिश वुमन राइट्स अर्गनाइजेशनकी एक्जेक्युटिभ डायरेक्टर डिआना नम्मीले दिएको जानकारी अनुसार अफेयरका कारण महिलालाई डेढ वर्षको जेल सजाय भएको थियो । जेलमुक्त भएपछि उनले सम्बन्धविच्छेदको माग गरिन् जसका कारण उनलाई गोली हानी हत्या गरियो । महिलाका पिताले हत्यापछि आफ्नी छोरीले न्याय पाएको भन्दै आरोपीको समर्थन गरेको उनले दाबी गरेकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!