साउदीमा ड्रोन आक्रमण: अरब क्षेत्रमा तनाव, अमेरिकाद्वारा सबै राष्ट्रलाई यस्तो अपिल

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौँ (एजेन्सी) | साउदी अरबका दुई ठूला तेल उत्पादन र प्रशोधन गर्ने प्लान्टमा शनिबार ड्रोन आक्रमण भएपछी अरव क्षेत्रहरु तनावग्रस्त अवस्थामा छन् । 

यमनको हुथी विद्रोही समूहले जिम्मेवारी लिएको साउदीमाथिको ड्रोन आक्रमणपछि साउदीको पक्षमा रहेको रहेको अमेरिकाले समेत आफ्ना धारणाहरु सार्वजनिक गरेको छ । १० वटा ड्रोन प्रयोग गरी गरिएको उक्त आक्रमणबाट साउदीको सरकारी स्वामित्वको अराम्को कम्पनीका अब्क्वाइक र खुराइस प्लान्टमा क्षति पुगेको थियो । 

अरब क्षेत्रमा आफ्नो प्रमुख सहयोगी साउदीमाथिको उक्त आक्रमणलाई अमेरिकाले इरानले गराएको आरोप लगाएको छ । यमनमा विद्रोहरत समूह  हुथीलाई इरानको समर्थन छ । उक्त समूहले त्यस्तो आधुनिक प्रविधियुक्त आक्रमण गर्न नसक्ने भन्दै त्यसमा इरानकै हात रहेको अमेरिकाको तर्क छ । 


अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्वीटरमा लेखेका छन्- रूहानी (इरानी राष्ट्रपति) र जरिफ (विदेश मन्त्री)ले कूटनीतिक पहल गरेको नाटक गरिरहेका बेला तेहरानले साउदी अरेबियामाथि भएका झन्डै सय वटा ड्रोन आक्रमण गराएको छ । तनाव मत्थर पार्न गरिएका सबै आग्रहकाबीच इरानले वर्ल्ड इनर्जी सप्लाईमा यसअघि कहिल्यै नभएको आक्रमण गरेको छ । यमनबाट यस्तो आक्रमण भएको हो भन्ने कुनै प्रमाण छैन । 

ट्रंपले इरानको यो आक्रमणको बिनाकुनै हिच्किचाहट विरोध गर्न सबै राष्ट्रलाई आग्रह गरेका छन् । यही विषयमा साउदीका राजकुमार मोहम्मद सलमानले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले उक्त आक्रमणको जवाफ दिन साउदी सक्षम रहेको बताएका छन् ।  

गत वर्ष ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे शक्तिराष्ट्रहरू र इरानबीच भएको सम्झौता छोडेपछि अमेरिका-इरान सम्बन्धमा तनाव चुलिएको छ ।

सम्झौता छोड्दै ट्रम्पले इरान र तेहरानका उच्च सरकारी अधिकारीमाथि थप प्रतिबन्धहरू लगाएका छन् । केही समयअघि इरानले आफ्नो हवाइ क्षेत्रमा आएको भन्दै अमेरिकी जासुसी ड्रोन खसालिदिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!