अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा, भाइरससँग डटेर सामना गर्ने

Posted on: 14 Mar, 2020

चैत १, काठमाडौँ | कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी गराएका हुन् । अमेरिकाले अनिश्चित कालसम्मको लागि संकटकाल घोषणा गरेको हो । 

विश्व स्वास्थ्य संगठन (WHO) ले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो । 

संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ । ट्रम्पले आउँदो दिनमा अमेरिकाले निकै महत्वपूर्ण काम गर्ने बताएका छन् । ट्रम्पले कोरोना भाइरस फैलिनबाट रोक्नका लागि अमेरिकाले कोसिस गर्ने जनाएका छन् । 

ट्रम्पले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह समेत गरेका छन् । उनले अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न सुझाव दिएका छन् । 

संकटकालसंगै अमेरिकाले १४ तारिख देखिनै युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हालसम्म कोरोना भाइरसबाट १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भएका छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । १ सय २३ वटा देशमा कोरोना संक्रमित फेला परेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!