लकडाउन उल्लङ्घन गरेको भन्दै दाइले गरे भाइको हत्या

Posted on: 28 Mar, 2020

चैत १५, काठमाडौँ | कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि भारतमा लगाइएको लकडाउन अब मानिसहरुका लागि सकस बन्न थालेको छ । लकडाउनले मानिसहरुको सम्बन्धमा पनि असर गर्न थालेको छ । ठूलो संख्यामा मानिसहरुले रोजगारी गुमाएका छन् । विशेष गरेर मजदुरहरुले धेरै दुःख पाइरहेका छन् । दुई छाक खाना जुटाउन पनि उनीहरुलाई धौ–धौ भइरहेको छ ।

यही संकटकाबीच बुधबार लकडाउनको क्रममा घरबाट निस्किएको भन्दै एक दाइले आफ्नै भाइको हत्या गरेका छन् । कोरोनभाइरसलाई कारण बनाएर देशमा यसलाई पहिलो हत्याको मामिला बताइएको छ । मुम्बईको कान्दिवली इस्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले आफ्नो २१ वर्षीय भाइ दुर्गेशको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार राजेशले दुर्गेशलाई लकडाउनको समयमा घरबाट ननिस्कन निर्देशन दिएका थिए । तर, दुर्गेशले त्यसलाई वेबास्ता गर्दै घरबाट निस्किएका थिए ।

राजेश मुम्बईमा आफ्नो पत्नीसँग बस्थे भने दुर्गेश पुणेमा वेटरको काम गर्थे । लकडाउनका कारण एक हप्ताअघि दुर्गेशले आफ्नो जागिर गुमाएका थिए । त्यसपछि उनी मुम्बई आएर राजेशसँग बस्न थालेका थए ।

बुधबार लकडाउन भएपछि राजेशले उनलाई घरबाट बाहिर ननिस्कन भनेका थिए । तर, दुर्गेश अटेर गर्दै बाहिर निस्केपछि दुईबीच झगडा भएको थियो । यही क्रममा राजेशले दुर्गेशको टाउकोमा भाँडाले प्रहार गर्दा उनी घाइते भएका थिए । उनलाई अस्पताल पुर्याउँदा डाक्टरहरुले मृत घोषित गरेका थिए । प्रहरीले अहिले राजेशलाई पक्राउ गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!