सीमा विवादका कारण मोदीको मुड ठिक छैनः ट्रम्प

Posted on: 29 May, 2020

जेठ १६, काठमाडौँ (एजेन्सी) | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाबारे भारत र चीनबीचको जारी तनावको विषयमा पुनः मध्यस्थताका लागि प्रस्ताव पेश गरेका छन् ।

ट्रम्पले भने, ‘यदि उहाँहरुलाई मैले केही मद्दत गर्नसक्छु जस्तो लाग्छ भने म मध्यस्थताका लागि तयार छु ।’ 

ट्रम्पले चीनसँग जारी ‘ठूलो विवाद’ को विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको पनि जानकारी दिए । ट्रम्पले दाबी गर्दै भने, ‘दुई देशबीचको तनावको विषयमा प्रधानमन्त्री मोदीको मूड ठिक छैन ।

ट्रम्पले यो विवादमा भारत रत्तिभर पनि खुसी नभएको र सायद चीन पनि खुसी नभएको बताएका छन् ।

ट्रम्पले यी कुरा पत्रकारसँग बिहिबार ह्वाइट हाउसको ओभलमा भनेका हुन् । अमेरिकी राष्ट्रपतिले भारत र चीनबीच ठूलो भीडन्तको स्थिती सिर्जना भएको बताएका छन् ।

एक भारतीय पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भनेका छन्, 'मलाई तपाईंको प्रधानमन्त्री निकै मनपर्छ । उनी निकै सज्जन छन् ।' भारत–चीनबीचको तनावबारे कुरा गर्दै उनले भने, 'भारत र चीनबीच ठूलो भिडन्तको स्थिती छ । दुबै देशसँग १ अर्ब ४० करोड जनसंख्या छ । दुबै देशसँग निकै बलियो सेना छ । भारत खुसी छैन र सायद चीन पनि छैन । मैले मोदीसँग कुरा गरेको थिएँ र चीनसँग हाल जे चलिरहेको छ, त्यो विषयमा उनको मूड ठिक छैन ।'

बुधबार ट्रम्पले ट्वीटमा दुई देशबीचको सीमाको विषयमा जारी विवादका लागि मध्यस्थताको प्रस्ताव पेश गरेका थिए । ट्रम्पले आफू मध्यस्थताका लागि तयार भएको बताएका थिए ।

स्रोतः बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!