महामारी रोक्न नसकिने दिशातिर उन्मुख भएको चेतावनी !

Posted on: 31 Jul, 2020

साउन १६, एजेन्सीको सहयोगमा | अमेरिकाका वैज्ञानिकहरुले अमेरिकी सरकारलाई कोरोनाभाइरस महामारीसम्बन्धी आफ्ना नीतिलाई बदल्न अनुरोध गरेका छन् । उनीहरुले अमेरिका महामारीलाई रोक्ने दिशातिर उन्मुख नभएको चेतावनी समेत दिएका छन् ।

हालसम्म अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण ४४ लाख बढी संक्रमित भइसकेका छन् भने १ लाख ५० हजार बढीको मृत्युसमेत भइसकेको छ ।

गत बुधबार अमेरिकाको क्यालिफोर्निया, टेक्सस र फ्लोरिडामा गत मे महिनायताकै सबैभन्दा बढी मृत्युको घटना भएपछि जोन हप्किन्स युनभर्सिटीका अनुसन्धानकर्ताहरुले सो चेतावनीसहितको अनुरोध जारी गरेका हुन् ।  

वैज्ञानिकहरुले जारी गरेको सो नीतिसम्बन्धी सारांश विवरणमा अमेरिकाले गत मे महिनामा घरमै बस्ने नीतिलाई कडाइका साथ लागू गरेकोले कोरोनासंक्रमणका केसहरुमाथि नियन्त्रण पाउन सकेको स्मरण गराइएको छ । तर ‘अहिले कोरोनोसंक्रमणमा भएको बढोत्तरीले मुलुकका थुप्रै भागहरुमा अस्पतालहरुमा चाप बढेको तथा समाजका वित्तीय, शिक्षादेखि स्वास्थ्यक्षेत्रमा समेत तनाव बढाएको’ कुरा पनि त्यसमा उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार अहिले कोभिड–१९ का कारण विभिन्न राज्यहरुमा अस्पतालमा भर्ना हुनेहरुको संख्याले गत मार्च–अप्रिल महिनामा कोरोनोभाइरस संक्रमणको इपिसेन्टरको रुपमा देखापरेको न्यूयोर्कको स्थिति छेउछाउ पुगेको वा त्यसलाई पनि नाघेको पनि स्मरण गराएका छन् ।

‘संसारका अरु मुलुकहरुको तुलनामा, अमेरिकाले अहिले महामारीलाई नियन्त्रण गर्ने दिशातिर उन्मुख भइरहेको छैन । अब त्यसलाई परिवर्तन गर्नेबेला भएको छ,’ अनुसन्धानकर्ताहरुले जारी गरेको सारांश प्रतिवेदनमा भनिएको छ । सो प्रतिवेदनमा कोरोनाको संक्रमण फैलिन नदिनका लागि गर्नैपर्ने १० वटा कार्यहरु पनि सुझाइएको छ । उनीहरुले दिएका सुझावमध्ये सबैभन्दा प्रमुख मास्कको अनिवार्य प्रयोग, सामाजिक दूरीको पालना, नियमित रुपमा हात धुनुपर्ने तथा ठूला जमघटहरुलाई पन्छाउनुपर्ने जस्ता कुराहरु छन् ।

‘यी उपायहरुको पालना नगरिकन महामारीमाथि नियन्त्रण पाउन तथा अहिले बढोत्तरीभइरहेको महामारीलाई उल्टाउन कठिन हुनेछ,’ प्रतिवेदनमा भनिएको छ ।

‘अहिले अमेरिकामा कोभिड–१९ त्यो अवस्थामा पुगेको छ, जसमा माथिका प्रतिरक्षात्मक उपायहरु व्यक्तिको व्यक्तिगत छनौट भनेर भन्न सकिने अवस्था छैन, बरु त्यसलाई सामाजिक उत्तरदायित्वको तौरतरिकाको रुपमा लागू गर्नु जरुरी भइसकेको छ ।’

महामारीले चर्को रुप लिँदै गरेको र अवस्था खराब बन्दै गइरहेका ठाउँहरुमा सरकारी पदाधिकारीहरुले स्थितिमा सुधार नभएसम्म कम्तिमा दुई हप्तासम्म घरमै बस्ने आदेश जारी गर्नु जरुरी भएको कुरा पनि सो प्रतिवेदनमा औंल्याएको छ । यस किसिमको निर्णय असहज हुनेछ तर नेतृत्वले जनतालाई सटिक र पारदर्शी ढंगले जनतालाई त्यसको उद्देश्य र त्यसो गरिने सम्भाव्य समयको बारेमा जानकारी गराउनु जरुरी छ ।

अनुसन्धानकर्ताहरुले स्वास्थ्य संस्थाहरुमा व्यक्तिगत सुरक्षाका सामग्रीहरु तथा परीक्षणका उपकरणहरुको आपूर्ति बढाउनु पर्ने पनि सुझाव दिएका छन् । उनीहरुले संक्रमणसम्बन्धी तथ्यांकहरुको अझ राम्रो विश्लेषण तथा मुलुकभरि नै संक्रमण भएका व्यक्तिसँग सम्पर्कमा आएकाहरुको खोजी बढाउनुपर्ने सुझाव पनि दिएका छन् ।

सो सारांश प्रतिवेदनमा भनिएको छ, ‘कोरोनाभाइरसको महामारी संयुक्त राज्य अमेरिकाका लागि शताब्दीकै सबैभनदा ठूलो खतरायुक्त महामारी हो ।’

‘यतिखेर अमेरिका महामारीको कठिनबिन्दूमा आइपुगेको छ र यसविरुद्ध लड्नका लागि अपनाइएका तौरतरिकाहरुलाई सुधार गर्नका लागि गम्भीर ध्यानदिइनु जरुरी छ । अब संक्रमणको फैलावटलाई रोक्न र मानिसहरुको जीवन बचाउनका लागि अघि बढ्नुपर्ने समय आएको छ ।’ त्यसमा भनिएको छ ।

अमेरिकाका सत्ताधारीहरुले कोरोनाभाइरस महामारीमाथि नियन्त्रण पाउनका लागि विज्ञहरुले दिएका सुझावलाई वेवास्ता गरिरहेको बेलामा जोन हप्किन्स युनिभर्सिटीका अनुसन्धानकर्ताहरुको तर्फबाट आएको यो सुझाव अर्थपूर्ण छ । उनीहरुको यो सुझावले अरु थुप्रै जनस्वास्थयविदहरुले दिँदै आएका सुझावलाई नै प्रतिध्वनित गरेको छ जसमा सार्वजनिक स्थानहरुमा सामाजिक दूरीको पालना र मास्कको अनिवार्य प्रयोगलाई मुलुकभरि लागू गर्ने हो भने अमेरिकामा फैलिएको महामारीलाई नियन्त्रणमा ल्याउन सकिने कुरा पर्दछ ।

त्यसो त अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नै पनि मास्कको प्रयोग गर्नुपर्ने संघीय आदेशलाई लत्याउँदै आए । उनले सधैं मास्कको प्रयोगको विरोध गरे यद्यपि पछिल्लो चरणमा उनले पनि मास्क लगाएका थिए ।

त्यसैगरी, अमेरिकी राष्ट्रपतिले स्कुलहरु पूर्ण रुपमा खोल्नुपर्ने कुराको पनि पक्षपोषण गर्दै आइरहेका छन् । जबकि त्यहाँका शिक्षक युनियन तथा स्थानीय पदाधिकारीहरुले चाहिँ विद्यार्थीहरुलाई घरमै बस्न तथा अनलाइन पद्दतिबाट कक्षाहरुलाई अघि बढाउन अनुरोध गरिरहेका छन् ।

यसबीच विज्ञहरुले अमेरिकामा देखापरेका कोरोनाभाइरसको नायँ लहरहरुले आर्थिक रुपमा माथि उठ्ने कोशिशमा बाधा पुर्याइरहेको जानकारी दिएका छन् ।

‘पछिल्ला केही हप्तामा संक्रमणमा बृद्धि भइरहेको हामीले देखेको छौं र त्यसलाई नियन्त्रण गर्नका लागि पुनः अपनाइएका उपायहरुले आर्थिक गतिविधिहरुमा असर पुग्ने हामीले देखेका छौं,’ गत बुधबार मात्रै फेडेरल रिजर्भका अध्यक्ष जेरोम पोवेलले भनेका छन् । - अलजजिराबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!