डुङ्गा दुर्घटनामा २७ जना को शव भेटियो, दुई जना अझै बेपत्ता

Posted on: 20 Sep, 2016

असोज ४, थाइल्यान्ड । थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये मङ्गलबारसम्ममा २७ जनाको शव भेटिएको छ ।

दुर्घटनामा परी हराइरहेका अरु दुई जना अझै नभेटिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय थाई अधिकारीले भेटिएका शवमध्ये छ ओटा शव आठ वर्षका बालकको रहेको जनाएका छन् । शव घटनास्थलदेखि पाँच किलोमिटर टाढा भेटिएका हुन् ।

अझैसम्म नभेटिएका एक पुरुष र एक जना महिला रहेका छन् । भेटिएका शवमध्ये २० वटा पुरुषको र सात वटा महिलाको रहेको अस्पतालले जनाएको छ ।

डुङ्गामा सवार १५० जनामध्ये ५० जनाभन्दा बढी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । हराइरहेकाहरुको अहिले पनि खोजीकार्य जारी रहेको सुरक्षा अधिकारीले जनाएका छन् ।

दुर्घटनापछि तत्काल नदीमा डोरी फालिएको र त्यही डोरीको सहयोगमा केही घाइते नदी बाहिर आएका थिए । पानीमा डुबी बेहोस भएका केही मानिसलाई समेत स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

विपरित दिशाबाट आएको अर्को डुङ्गासँग ठोक्किनबाट जोगाउने प्रयास गर्दा डुङ्गा पुलको पिलरमा ठक्कर खाएपछि भएको सो दुर्घटनामा मृत्युहुने सबै थाई नागरिक रहेका बताइएको छ । रासस/सिन्ह्वा/एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!