दमौली अस्पताल स्तरोन्नतिका लागि जग्गा माग

Posted on: 17 Aug, 2020

भदौ १, दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ । अस्पतालका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइदिन जिल्ला सभाले निर्णय गरेपछि बसेको सर्वपक्षीय बैठकले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको केही रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको हो ।

जिल्ला सभाले दमौली अस्पतालसँगै जोडिएका कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइदिन निर्णय गरेको थियो । सो जग्गाको स्वामित्व प्रदेश सरकार मातहत रहेकाले जग्गा माग गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष अनुरोध गर्ने निर्णय गरेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले दिनुभयो । “दमौली अस्पतालको स्तरोन्नतिका लागि जिल्लाका सबै सरोकारवाला एकमत छन्, अस्पतालको स्तरोन्नतिका लागि कृषि र पशुको जग्गा आवश्यकता भएको हो,” अध्यक्ष अधिकारीले भन्नुभयो, “त्यो जग्गा अस्पताललाई दिनपर्छ भनेर दबाब सिर्जना गर्न मुख्यमन्त्रीसँग भेट्न जाने निर्णय भएको छ ।”

जिल्ला सभाले जिल्ला समन्वय समितिको स्वामित्व भएको दमौली पार्कभन्दा उत्तर र दक्षिणतर्फका जग्गाहरु अस्पतालको स्तरोन्नतिका लागि उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको थियो । जिल्ला सभाले गरेको निर्णयका जग्गाहरुमा अस्पतालको स्तरोन्नतिका लागि विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) बनाउने तयारी गरिएको छ । अस्पतालको स्तरोन्नतिका लागि डिपिआर तयार गर्न गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ३५ लाख बजेट विनियोजन गरेको थियो ।

जम्मा १५ शैय्याको दमौली अस्पताल मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शैय्याको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अध्यक्ष अधिकारीले अस्पताल स्तरोन्नति गर्न सकिए विशेषज्ञसहितको सेवा दिन सकिने बताउनुभयो । हाल यस अस्पतालबाट ४२ शैय्यामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसुतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुनेछ । दमौली अस्पतालमा सरकारी तर्फका १८ र अस्पताल व्यवस्थापन समितिबाट १८ करारमा कर्मचारी कार्यरत छन् । 

अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याबोरोटरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो । विसं २०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलोसिस सेवा शुरु गरिएको, २०७३ सालमा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा २०७४ सालमा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो । रासस 






यस बिषयमा तपाइको प्रतिक्रिया...!