तनहुँमा आठ हजार घर पुनर्निर्माण

Posted on: 21 Aug, 2020

भदौ ५, दमौली । विनाशकारी भूकम्पले क्षति पुर्याएका तनहुँका ५२ प्रतिशत घरका पुननिर्माण सकिएको छ । पूर्ण र आंशिक गरी कूल १५ हजार नौ सय ६३ लाभग्राही रहेकामा असार मसान्तसम्म ८ हजार तीन सय ८४ घर पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

जिल्लामा पूर्णतर्फ १४ हजार तीन सय ९५ र आंशिकतर्फ एक हजार पाँच सय ६८ गरी कूल १५ हजार नौ सय ६३ लाभग्राही छन् । जिल्लामा सबैभन्दा बढी लाभग्राही भानु नगरपालिकामा चार हजार आठ सय ४५ र सबैभन्दा कम लाभग्राही घिरिङ गाउँपालिकामा तीन सय ३० रहेको इकाईका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो । व्यास नगरपालिकामा दुई हजार पाँच सय ४१, बन्दीपुरमा एक हजार एक सय १६, आँबुखैरेनीमा नौ सय ४१, देवघाटमा ६ सय ६१, म्याग्देमा एक हजार चार सय ८९, ऋषिङ गाउँपालिकामा छ सय ३२ , भीमादमा एक हजार तीन सय ३१, शुक्लागण्डकी नगरपालिकामा दुई हजार ७७  लाभग्राही छन् ।

उहाँका अनुसार व्यासमा एक हजार दुई सय ९२, भानुमा दुई हजार छ सय ७६, शुक्लागण्डकीमा एक हजार २७ र  भीमाद नगरपालिकामा छ सय २८ रहेका छन् । यसैगरी बन्दीपुरमा पाँच सय ८६, आँबुखैरेनीमा पाँच सय ८४, देवघाटमा तीन सय ५३, घिरिङमा एक सय ५६, म्याग्देमा सात सय ७१, र ऋषिङ गाउँपालिकामा तीन सय ११ घर पुनर्निर्माण सम्पन्न भएको छ । घर सम्पन्न भएकाहरुलाई तेस्रो किस्ता बापतको रकम भुक्तानी गरिसकिएको ईकाइले जनाएको छ । 

स्थानीय तहअनुसार ऋषिङमा ४९, म्याग्देमा ५१, बन्दीपुरमा ५२, आँबुखैरेनीमा ८४, देवघाटमा ५३, घिरिङ गाउँपालिकामा ४७ तथा व्यासमा ५०, भानुमा ५५, भीमादमा ४७ र  शुक्लागण्डकी नगरपालिकामा ४९ पुननिर्माण सकिएको छ ।

कूल लाभग्राहीमध्ये पूर्ण घर क्षति भएका १३ हजार दुई सय ९८ र आंशिक घर क्षति भएका नौसय १४ लाभग्राहीले पहिलो र १० हजार ७७ लाभग्राहीले दोस्रो किस्ता वापतको रकम बुझेका छन् । दोस्रो किस्ता बुझ्नेमध्ये व्यासका एक हजार चार सय २०, भानुका तीन हजार एक सय ६१, बन्दीपुरका सात सय ६२, आँबुखैरेनीका छ सय २०, देवघाटका चार सय १३, घिरिङका एक सय ९९, भीमादका सात सय ९०, म्याग्देका नौ सय ३९, शुक्लागण्डकीका एक हजार तीन सय ८४ र ऋषिङका तीन सय ८९ लाभग्राही छन् । 

इकाईका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई हजार दुई सय ९३ घर निर्माण सम्पन्न भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७५/७६ मा तीन सय ७१ र आर्थिक वर्ष ०७४/७५ मा दुई हजार चार सय ५९ घर निर्माण सम्पन्न भएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!