आजदेखि दसैँ-तिहारका लागि नयाँ नोट वितरण सुरु

Posted on: 20 Sep, 2021

असोज ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दसैँ-तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो ।

राष्ट्र बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ । यस पटकको दसैँमा सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउँछन् ।

राष्ट्र बैंकले आजदेखि साट्न मिल्ने गरी बजारमा करिब ३५ अर्ब बराबरको ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट पठाएको छ । राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधारणका लागि बालुवाटार कार्यालय र सात वटै प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरणको व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले बताए ।

राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना  ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था मिलाएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि चार अर्ब रुपैयाँका नयाँ नोट लगिसकेको कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!