अर्थमन्त्री शर्माद्वारा सेयरमा लगानीकर्ताहरुलाई आग्रह - 'तपाईँलाई भ्रम दिँदै ठग्लान्'

Posted on: 13 Dec, 2021

मङ्सिर २७, काठमाडौं | अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन् । सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधनको क्रममा मन्त्री शर्माले शेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने बताए । 

मन्त्री शर्माले मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाही समेत गरिसकेको बताउदै मन्त्रालयले गर्नुपर्ने कार्य गरिरहेको स्पष्ट पारे । शेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ कार्य भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए । 

लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए । यसमा लगानीकर्तालाई ढुक्क हुन समेत आश्वस्त पारे । अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउदै मन्त्री शर्माले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे । 'तपाईँलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नु होला', मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे, 'नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने/बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।' 

समारोहमा सहरी विकास मन्त्री रामकुमारी झाँक्री तथा सरकारका विशिष्ट कर्मचारीहरू, निजी क्षेत्रका व्यवसायी लगायतको उपस्थिति रहेको थियो । बीमा समितिको कार्यालय भवन ललितपुर–१० स्थित कुपण्डोलमा निर्माण हुन लागेको हो । दश महिनामा निर्माण कार्य सक्ने गरी आशिस–माउन्ट पुमोरी जेभीले निर्माण जिम्मा पाएको छ । निर्माणको लागत ४१ करोड ९२ लाख रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!