आयल निगमले ल्यायो अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा

Posted on: 06 Jan, 2022

पुस २२, काठमाडौँ | नेपाल आयल निगमले अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ। निगमले ३ करोड ६७ लाख रुपैयाँ लागतमा नेपालगन्जमा साे पेट्रोल पम्प सञ्चालनमा ल्याएको हाे ।

१ लाख ७ हजार लिटर भण्डारण क्षमता रहेको उक्त पम्पको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले उद्घाटन गरे । निमगले नयाँ पम्प नमुनाको रुपमा सञ्चालनमा ल्याएको हो । ‘निगमले नमुनाको रुपमा अत्याधुनिक पम्प सञ्चालनमा ल्याएको छ । व्यवसायीसँग प्रतिस्पर्धा नभई सबैतिर यस्तो किसिमको पम्प हुनुपर्छ भन्ने मान्यता हो,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘निजी क्षेत्रले पनि यही मोडलमा पम्प सञ्चालन गर्नुहुन्छ भन्ने चाहना छ ।’

निगमले भैरहवामा पनि डिजिटल पम्प सञ्चालन गर्दै आएको छ । निगमले आफ्नै स्वामित्वमा सञ्चालन गरेको यो दोस्रो पम्प हो । नेपालगन्जको पम्पमा ५ वटा भूमिगत ट्याङक रहेका छन् । पम्पमा २५/२५ हजार लिटर क्षमताको तीन वटा र १६/१६ हजार लिटर क्षमताका दुई वटा ट्याङक रहेको कार्यकारी निर्देशक पौडेलले बताए ।

निगमका नेपालगन्ज डिपो प्रमुख दीपक घिमिरेका अनुसार पम्पमा डिजिटल प्रविधिको डिस्पेन्सिङ मेसिन जडान गरिएको छ । जसकारण उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै जानकारी पाउनेछन्। इन्धन ढुवानी गर्ने ट्याङकबाट तेल अनलोड गर्दादेखि बिक्रीसम्म सबै डिजिटल प्रविधिबाट कार्य हुन्छ । भुक्तानीमा क्यासलेसको पनि सुविधा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!