फागुन ५, बलेवा । गलकोटमा पुरानो हरिचौर बजार छाडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । पञ्चायत कालको जिल्ला सदरमुकामसमेत रहेको हरिचौर बजार सडक विस्तारसँगै हटियामा स्थानान्तरण हुँदैछ । व्यवसाय गर्नका लागि सहज वातावरण हुने र अन्य सुविधासमेत हटियामा रहेकाले सर्वसाधारण हटियामा बस्न रुचाउँछन् । गलकोटकै मनेवामा माछाको व्यापार छ । कालोपत्र सडकमा हुइँकिँदै माछाको स्वाद लिनका लागि मात्रै भए पनि सदरमुकामबाट मनेवा पुग्नेहरू पनि छन् । बडिगाड गाउँपालिकामा पर्ने ग्वालीचौरको खार बजार विस्तार, रिसोर्ट र रेस्टुँराहरुको प्रतिस्पर्धा, निसीखोला गाउँपालिकामा झिँवाखोलाको व्यापार, पर्यटकीय क्षेत्र पातिहाल्नेमा पुग्ने सवारी साधनको भरिभराउ संयोग मात्रै होइन । बरु पुष्पलाल (मध्यपहाडी) राजमार्गको साधारण मार्ग खुलेपछि पूर्वी बागलुङदेखि पश्चिम बागलुङसम्म फेरिएको पछिल्लो अवस्था हो ।
बुर्तिबाङ बजार त स¬ङ्घीय सरकारले मध्यपहाडी लोकमार्गमा पर्ने १० सहरलाई नमूना बनाउँदा प्राथमिकता परेको मध्येको एक हो । मध्यपहाडी राजमार्गकै कारण बुर्तिबाङ बजार नमूना सहर आयोजना सञ्चालनमा छ । केही काम भएका छन्, केही समीक्षा गर्नुपर्ने विषय बनेका छन् । बागलुङ र रुकुमको सिमाना पातिहाल्नेमा दैनिक सयौँ पर्यटक पुग्छन् । रुकुम हुँदै बागलुङ र बागलुङ हुँदै रुकुम घुम्न पुग्ने पर्यटकका लागि पातिहाल्ने बिसौनी बनेको छ । मध्यपहाडी सुरु हुनुपूर्व पातिहाल्ने ठाउँको नाम सुन्नेहरू नै कम थिए । अहिले धेरैले चिनिसकेका छन् । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा सदरमुकामभन्दा कम चहलपहल छैन । त्यहाँको व्यापार व्यवसाय र आवासीय भवनको विकासले सदरमुकाम बागलुङ बजारलाई जिस्काइरहेको छ ।