भारतले नसाट्दा राष्ट्र बैंकको ढुकुटीमा थन्कियो ७ करोड भारु

Posted on: 28 Feb, 2022

फागुन १६, काठमाडौँ । कालो धन नियन्त्रण गर्न भन्दै छिमेकी मुलुक भारतले २०७३ कात्तिक २३  मा भारत सरकारले एक्कासी ५ सय र १ हजार रुपैयाँका दरमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । यो निर्णयले नेपाल सरकारलाई भने अहिलेसम्म पिरोलेको छ ।

सरकारी उदासीनताले भनौं या भारत सरकारको बेवास्ताले नेपालको बैंकिङ प्रणालीमा रहेका ७ करोड भारतीय रुपैयाँ अझै साटिएका छैनन् । नेपाल राष्ट्र बैंकले आफूसँग रहेका भारतीय नोटहरु साट्न भारतको केन्द्रीय बैंकलाई पटक-पटक पत्राचार गरे पनि सुनुवाइ गरेन ।  

भारतले भने नेपाललाई भारतीय दुई हजार दरका नोट चलन चल्तीमा ल्याउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत भारतले दुई हजार दरका नोट चल्तीमा ल्याउन पटक पटक आग्रह गरिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल आउनेहरुलाई समस्या परिरहेको भन्दै भारतले आग्रह गरिरहेको हो । ‘भारतबाट नेपाल आउने पर्यटकले सयका नोट बोकेर आउँदा निकै झण्झट भइरहेको र परिमाण पनि धेरै हुने भएकाले बोक्न समस्या परिरहेको भन्दै दुई हजार रुपैयाँका नोट चलाइदिन पर्यो भनेर भारतले आग्रह गरिरहेको छ’, नेपाल राष्ट्रबैंकका एकजना कार्यकारी निर्देशकले भने । 

नेपालमा बैंकहरुसँग भएका सात करोड रुपैयाँ बराबरका भारतीय पाँच सय र एक हजार दरका नोट साटेपछि मात्रै दुई हजार दरका नोट चलाउनेबारे निर्णय गर्न सकिने जवाफ दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशकको भनाइ छ । व्यक्तिहरुसँग भएका भारतीय पाँच सय र एक हजार दरका नोट कति छन् भन्ने औपचारिक जानकारी नभए पनि बैंकहरुसँग भएका सात करोड रुपैयाँ बराबरका नोट साट्न नेपालले पटक पटक आग्रह गरेको तर भारतले नमानेको राष्ट्र बैंकले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!