फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको मूल्य कति ?

Posted on: 17 Mar, 2022

चैत ३, काठमाडौँ । भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले बुधबार मध्यरात १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रुपैयाँका दरले बढाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पुगेको छ । यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३८ रुपैयाँ पुगेको छ । यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १ सय ५१ रुपैयाँ पु-याएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेर नबढाइएको निगमले जनाएको छ । बुधबार मात्र इन्डियन आयल कार्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार अझै निगमलाई डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ घाटा रहेको छ ।

यो घाटाबमोजिम निगमले आगामी १५ दिनमा करिब ५ अर्ब ३० करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको बताएको छ । एक महिनामा तीनपटकसम्म बढाइएको यस नयाँ मूल्य समायोजनपछि पनि अझै आगामी १५ दिनमा ४ अर्ब ६५ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २ हजारले वृद्धि गरी नयाँ बिक्री मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ४ सय ९५ कामय गरिएको निगमले जनाएको छ । अझै मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा नै रहेको छ ।

यसअघि बुधबार दिउँसो नै नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको जनाएको थियो । निगमले भारतबाट बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको जनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!