इटाली युरोकपको फाइनलमा, इटालीको अपराजित ३३ औं खेल

Posted on: 07 Jul, 2021

असार २३, काठमाडौँ | टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ९० मिनेटको खेलमा दुवै टोलीले १/१ गोलको बराबरी गरेपछि खेल १२० मिनेटसम्म चलेको थियो । उक्त समयमा समेत खेल बराबरी भएपछि खेल  टाइब्रेकरमा गएको थियो । टाइब्रेकर स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएपछि स्पेन सेमिफाइनलबाटै बाहिरिएको छ । 


यसअघि लण्डनस्थित बिम्बली रंगशालामा बुधबार बिहान सम्पन्न भएको खेलमा इटालीलाई फेडरिको चिसाले खेलको ६० मिनेटमा अग्रता दिलाएका थिए भने त्यसलाई बराबरी गर्ने क्रममा ८० मिनेटमा अल्भारो मोराटाले गोल फर्काएका थिए । 

इटाली फाइनलमा प्रवेश गरेसँगै बिहिबार बिहान हुने डेनमार्क र इङल्यान्डबीचको खेलको विजेतासँग ११ जुलाईमा फाइनल खेल्नेछ । 

यसैबीच अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ औं खेलसम्म लम्बिएको छ । सेप्टेम्बर २०१८ यता इटाली अपराजित यात्रामा रहेको छ । उसले पछिल्ला २८ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!