यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात, तीनवटै विकेट सोमपालले लिए

Posted on: 18 Mar, 2022

चैत ४, काठमाडौँ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा यूएईसँगको खेलमा नेपालले बलिङ गरिरहेको छ ।

यूएईको दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।

नेपालका तीव्र बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका छन् । त्यस्तै करण केसीले एक विकेट लिएका छन् । मोहम्मद वासिम २१ रनमा, ओपनर चिराग सुरी ६ रनमा, वृत्य अरविन्द ३ रनमा र आसिफ खान २ रनमा आउट भए ।

अहिले सीपी रिजवान र रोहन मुस्ताफा मैदानमा छन् । घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ ।

यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको सङ्घर्षपूर्ण जित निकालेको थियो । अङ्क तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!