आईपीएल: दिल्लीलाई पराजित गर्दै बेंगलोर तेस्रो स्थानमा उक्लियो, यस्तो छ अंकतालिका

Posted on: 17 Apr, 2022

वैशाख ४, काठमाडौँ । एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको छ । योसँगै बेंगलोर चौथो जितका साथ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

१ सय ९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन मात्र बनाएपछि बेंगलोरले २ अंक जोड्दै आइपीएलको अंक तालिकामा तेश्रो स्थानमा उक्लिएको हो । दिल्लीका ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६६ रन बनाए । 


दिल्लीलाई अन्तिम ३० बलमा ७५ रन चाहिँएको अवस्थामा शिराजको बलमा पन्त १७ औं ओभरको तेस्रो बलमा विराट कोहलीले एक हातले उत्कृष्ट क्याच लिएपछि दिल्लीको जितको सम्भावना कठिन बनेको थियो ।

दिल्लीका कप्तान रिसभ पन्तले १७ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मुम्बईको वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । बेंगलोरका विकेटकिपर दीनेश कार्तिक ३४ बलमा ५ चौका र ५ छक्कासहित ६६ रनको उत्कृष्ट अविजित इनिङ खेले ।

बेंगलोरको लागि ग्लेन म्याक्सवेलले ३४ बलमा ७ चौका र २ छक्कासहित ५५ रन बनाए । शहबाज अहमद २१ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । छैटौं विकेटका लागि शहबाज र दीनेशले ५२ बलमा ९७ रनको अविजित साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका हुन् ।



दिल्लीका शार्दुल ठाकुर, कुलदीप यादव, खलिल अहमद र अक्षर पटेलले १-१ विकेट लिए । 

दिल्लीले अब बुधबार पन्जाब किंग्ससँग खेल्नेछ । बेंगलोरले मंगलबार लखनऊ सुपर जायन्ट्सँग खेल्नेछ । 

आज आइपीएल अन्तर्गत दुई खेल हुनेछन् । पहिलो खेलमा सनराइजर्स हैदराबाद र पन्जाब किंग्स तथा दोस्रो खेलमा गुजरात टइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिष्पर्धा हुनेछ ।

यस्तो छ अंक तालिका

गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक सहित नेटरनरेटको आधारमा शीर्ष स्थानमा छ । त्यस्तै लखनऊ ६ खेलमा ४ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । 

राजस्थान रोयल्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ चौथो स्थानमा छ । त्यस्तै पन्जाब ५ खेलमा ३ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ६ खेलमा ३ मा जित र ३ मा हार सहित छैटौं स्थानमा छ ।

हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । दिल्ली ५ खेलमा २ मा जित र ३ मा हार सहित आठौं स्थानमा छ । त्यस्तै चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा छ । मुम्बई भने ६ खेलमा जित बिहीन हुँदै सबैभन्दा पुछारमा छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!