यूएईले नामिबियालाई हराएरपछि नेदरल्यान्ड्स सुपर–१२ मा

Posted on: 20 Oct, 2022

कात्तिक ३, काठमाडौँ | यूएईले ट्वान्टी ट्वान्टी विश्वकप प्रारम्भिक चरणको समूह ‘ए’को अन्तिम खेलमा नामिबियालाई ७ रनले पराजित गरेको छ । यो जितले समूहको अर्को टिम नेदरल्यान्ड्सलाई सुपर–१२ को चरणमा पुर्‍याएको छ । नामिबियाले यो खेल जितेको भए, उसले अर्को चरणको यात्रा तय गर्ने थियो । यो समूहबाट यसअघि नै श्रीलंकाले सुपर–१२ मा स्थान बनाइसकेको छ ।

उसले दिनको पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । श्रीलंका र नेदरल्यान्ड्स दुई जितबाट समान ४ अंकमा रहे । नामिबिया र यूएई भने एक जितबाट समान २ अंकमै सीमित भए । जितका लागि १ सय ४९ रन पछ्याएको नामिबियाले ८ विकेट गुमाएर १ सय ४१ रनमात्र बनाउन सक्यो ।

नामिबियालाई जितका लागि अन्तिम ओभरमा १४ रन बनाउन आवश्यक थियो । एक समय जितको नजिक पुगेर पनि नामिबिया प्रतियोगिताबाट बाहिरिएको छ । उसका लागि डेविड विसले ३६ बलमा ५५ रन बनाए । यस्तै रुबने ट्रम्पलेमन २५ रन बनाएर नटआउट रहे ।

त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले तीन विकेटमा १ सय ४८ रन बनाएको थियो । प्रारम्भिक ब्याटर मुहदम वसिमले ४१ बलमा ५० रन बनाए । यस्तै चुन्डनगपोयली रिजवानले २९ बलमा ४३ रन बनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!