राहदानीका लागि अनलाइन फारम भर्दा चर्को शुल्क लिने तीन जना पक्राउ

Posted on: 20 Apr, 2022

वैशाख ७, कञ्चनपुर | कञ्चनपुरमा राहदानीको अनलाईन फारम भर्ने क्रममा ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहदानीका लागि अनलाइन फारम भर्ने क्रममा चाँडै पालो मिलाइदिने भन्दै सेवाग्राहीबाट बढी रकम लिएको आरोपमा उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रेम्बो फोटो स्टूडियोका सञ्चालक केशवराज जोशी, हार्दिक फोटो स्टूडियोका विरबहादुर धामी र देवराज जोशी छन् । उनीहरुले अनलाईन फारम भरेबापत सेवाग्राहीसँग एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिएको पाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।

नियन्त्रणमा लिइएका तीनै जनामाथि ठगी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । राहदानीका लागि अनलाइन फारम भर्नका लागि यसरी अनधिकृत रुपमा चर्को शुल्क लिनेविरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सबैमा आग्रह गरेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!