फुटपाथमा कुनै पनि किसिमको व्यापार गर्न दिने नीति छैनः काठमाडौं महानगरपालिका

Posted on: 07 Jul, 2022

असार २३, काठमाडौँ | फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ। महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ। 

नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ व्यवस्थापन भएको बताएका छन्। उनले भने, ‘सडकपेटी पैदलयात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो।’

एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएको उनले स्मरणसमेत गराए। महानगरले आगामी आर्थिक वर्षका लागि यही असार ८ गते नगरसभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ।  

‘महानगरको कार्यपालिका बैठकको निर्णयानुसार हामीले काम अगाडि बढाएका हौँ, यसमा विरोध गर्नुपर्ने विषय नै छैन, कार्यपालिकाको निर्णयमा काम गर्दा किन विरोध गर्नु, यसलाई नियन्त्रण गर्नका लागि सडकपेटी प्रयोग गरी राखेको व्यवसायलाई करको दायरामा आउने गरी रूपान्तरण गर्नु हाम्रो दायित्व हो,’ सापकोटाले भने। 

जफत गरिएका सामग्री लिलाम 

सडकमा व्यवसाय गर्नेबाट जफत गरिएका सामान लिलामी प्रक्रियामा जाने गरेको महानगरले जनाएको छ। सड्ने, गल्ने खाद्यवस्तु तथा तरकारी–फलफूल र प्रज्ज्वलनशील पदार्थलगायत सामानको भने जरिवाना तिराएर तत्काल सम्बन्धित व्यवसायीलाई नै फिर्ता गर्ने गरिएको र नबिग्रने सामग्रीको मात्र लिलाम गर्ने गरिएको छ।

चालु आवमा रु १५ लाख सामग्रीको लिलाम प्रक्रिया अघि बढाइएको छ। गत आवमा रु ५२ लाख बराबरका सामान लिलाम गरिएको थियो। प्रमुख सापकोटाका अनुसार त्यसमा फलामजन्य, होडिङ बोर्ड, पाइप, साइकल र ठेलागाडालगायतका सामान रहेका थिए। यसरी लिलाम गरेर असुल भएको रकम महानगरको कोषमा जम्मा हुने गरेको बताइएको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!