भीआइपी कक्षको दुरुपयोगः ठगी आरोपीलाई मुस्लिम आयोगका अध्यक्षले भगाए

Posted on: 03 Sep, 2022

भदै १८, काठमाडौँ | मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ठगी मुद्दामा फरार आरोपीलाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भगाएका छन् । दुबईबाट काठमाडौँ आएका सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई अध्यक्ष अन्सारीले भीआईपी कक्षबाट आफैँले रिसिभ गरेर बाहिर ल्याएका हुन् ।  

शुक्रबार बिहान अन्सारीले प्रहरीलाई छक्याएर भगाएका आरोपीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले राती मेरियट होटलबाट पक्राउ गरेको छ । होटलमा अर्को व्यक्तिको नाममा कोठा बुक गरेर उनलाई राखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । 

रिजवान आलमलाई विमास्थल सुरक्षा कार्यालयको पत्रको आधारमा पक्राउ गरेर बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले बताए ।

आलमसहित तीन जनाविरुद्ध दाउद हुसेनले गत कात्तिकमा आलमविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगी गरेको कसुरमा कारबाहीका लागि प्रहरीमा उजुरी दिएका थिए।

आलमले हुसेनका छोरालाई दुबईमा पाइलट कोर्स गराइदिने भनेर उक्त रकम लिएका थिए। तर, कोर्स गर्न नपाएपछि आफू आलमबाट ठगिएको भन्दै हुसेनले प्रहरीमा जाहेरी दिएका थिए। काठमाडौं प्रहरी परिसरले २०७८ चैत १० मा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलाई पत्र लेखी कालोसूचीमा राख्न आग्रह गरेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!