खन्तिले हानेर साथीको हत्या

Posted on: 21 Mar, 2024

चैत ८, झापा | झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ ।

साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरिएको हो ।

सनमको हत्या उनकै साथी अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना आज बिहान ५ बजेको हो ।

कमान र सनम साथी हुन् । कमान गएराति सनमको घरमा गएर सुतेका थिए ।

सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पुरानो रिसिविले हत्या गरेको हुन सक्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!