करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा ३ जनाको मृत्यु

Posted on: 11 Sep, 2022

भदौ २६, काठमाडौँ । झापाका छुट्टाछुट्टै तीन स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार अपराह्न याङबरक गाउँपालिका-६ पाँचथर घर भई बुद्धशान्ति-२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइली बुद्धशान्ति गाउँपालिका-३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए । घाइते रसाइलीको स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचारपश्चात थप उपचारका लागि बीएनसी अस्पताल बिर्तामोड लगिएकोमा उनको अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो ।

यसैगरी हल्दीबारी गाउँपालिका-५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो भने मेचीनगर नगरपालिका-५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाइते भएका मेचीनगर नगरपालिका-११ धाईजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!