यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन- अध्यक्ष नेपाल

Posted on: 22 Apr, 2024

बैशाख १०, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन बारे आशंका व्यक्त गरेका छन् ।

सोमबार नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालको अहिलेको राजनीति जटिल भएको बताउदै वर्तमान गठबन्धन लामो समय जानेमा आशंका व्यक्त अग्रेका हुन् । 

उनले भने, ‘परिस्थिति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ ।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूहरू कसैको गालीगलौज सहनका लागि नजन्मेको भन्दै कसैको दास नबन्ने बताए ।  उनले भने, ‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ ।’

पछिलो समय सत्ता गठबन्धनमा यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै नेपाल असन्तुष्ट रहेका छन् ।  उनले यस बीचमा वैकल्पिक गठबन्धन बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा रहेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!