त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

Posted on: 01 Apr, 2024

चैत १९, काठमाडौं | आजदेखि तीन महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट जहाज अवतरणमा रोक लगाइएको छ । तर, उडान भने निरन्तर हुनेछ । 

अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हुनेछ ।  


काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी दिए । यसबाट पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् । यस्तो रोक अनुमानित तीन महिनाका लागि भएको तिवारीले बताए ।

उनका अनुसार उत्तरतर्फको काम सकिएपछि दक्षिणतर्फ यसैगरी निर्माणको काम हुनेछ । विमानस्थलको क्षमता अभिवृद्धिका लागि यो निर्माण गर्न लागिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एडिबीको सहयोगमा सन् २०१०-२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेर विभिन्न काम गर्दै आएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!