पर्वतमा दम्पती हत्या : शंकास्पद दुई आफन्त पक्राउ

Posted on: 03 Apr, 2024

चैत २१,  काठमाडौँ । पर्वतको जलजला गाउँपालिका–२ दहमा मङ्गलवार मृत फेला परेका एक दम्पतीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले अनुसन्धानको क्रममा सोधपुछका लागि शंकास्पद दुई जनालाई नियन्त्रणमा लिइएको बताए ।

‘हामी अनुसन्धानमै छौँ । सोधपुछका क्रममा दुई जनालाई नियन्त्रणमा लिएका छौँ,’ उनले भने ।

घटनाका लागि बुझ्नका (सोधपुछ) लागि दुईलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए ।

‘अनुसन्धानका क्रममा मृतकका आफन्त दुई जनालाई ल्याएका छौँ । घटनापछि उहाँहरू त्यहाँ हुनुहुन्थेन । केही खुल्छ कि भन्ने हिसाबले ल्याएका हौँ,’ उनले भने ।

पर्वत जलजला– २ दहमा ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीय कमला घर्ती क्षेत्री मङ्गलवार बिहान घरभित्रै मृत फेला परेका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुकुरसहितको विज्ञ टोली घटनास्थल पुगेको थियो । उक्त टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक रूपमा दम्पतीको हत्या गर्न काठ प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । उक्त दम्पती सोमबार पोखरामा जग्गा किन्न भन्दै सहकारीमा ऋण लिन गएको पाइएको छ ।

उनीहरूको घरबाट गरगहनासमेत हराएको प्रहरीले जनाएको छ र घरमा ती दम्पती मात्रै बस्दै आएका थिए । २ छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्को छोरा म्याग्दीको बेनी बजारमा बस्दै आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!